माङसेबुङ । इलामको माङसेबुङमा जारी १८औं आत्मानन्द गोल्डकप २०८२ फुटबल प्रतियोगितामा दुधे युथ क्लब झापा सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
माङसेबुङ ५ स्थित आत्मानन्द खेल मैदानमा भएको मंगलबारको खेलमा दुधेले भारतको सिलिगुडी कञ्चनजंगा फुटबल क्लब माथि ७–२गोलको अन्तरको फराकिलो जित निकाल्न सफल भएको हो ।
खेलको पहिलो हाफमा दुधेका प्रदिप बुढाथोकी र निमा तामाङले दुई–दुई गोल गरेर टिमलाई ४–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुधेका लागि निमा र प्रदिपको ह्याट्रिकसँगै संजोक मगरले एक गोल थपे ।
सिलिगुडीका पुजन सुब्बा र अभिषेक ठकुरीले गोल गरे पनि जित निकाल्न सकेन । खेलको म्यान अफ द म्याच दुधेका निमा तामाङ घोषित भएका छन् ।
बुधबार हुने खेल युथ अफ माङसेबुङ इलाम र दमक भाङबारी स्पोर्टिङ क्लब झापाबीच रहेको छ ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औंजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ कोअवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकपसञ्चालन हुने छ । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद२ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु समेत संचालन हुनेछ ।




