दमक, ९ चैत्र ।
प्रदेश नम्बर १ सरकारले छिमेकी मुलुक भारतसँगका साना नाकाहरु बन्द गर्ने भएको छ ।

विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण भारतको बिहार राज्यमा एक जनाको मृत्यु भएपछि प्रदेश १ सरकारले संक्रमणको जोखिमलाई ध्यानमा राखेर साना नाकाहरुमा आवत–जावत रोक्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले आइतबार भारतसँग जोडिएको सानां नाकाहरुबाट आवत–जावतमा पूर्ण रोक लगाउन निर्देशन जारी गरेको हो । प्रदेश सरकारको यो निर्देशनसँगै अब ती नाकाहरुमा आवागमन रोकिने प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।
यसअघि संघीय सरकारलाई नाकाहरुमा थप कडाई गर्ने र साना नाकाहरु बन्द गर्नुपर्ने भनी प्रदेश सरकारले अनुरोध गरेको थियो । तर, केन्द्रीय तहबाट अहिलेसम्म भारतसँग सीमा जोडिएका नाकाहरुको हकमा के गर्ने ? भन्ने बारे स्पष्ट निर्णय भएको छैन । मन्त्री कार्कीका अनुसार प्रदेश सरकारले दुई देशबीचको नाका बन्द गर्न सक्दैन । उनले भनेका छन् –‘ठूला नाकामा कडाइ गरेर सानालाई बन्द गर्न सर्कुलर जारी गरेका छौं ।’

