विराटनगर ३०, कार्तिक ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका राईले आज हुने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको प्रदेश संसद् सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृतबाट मुख्यमन्त्री बनेका राईले लगत्तै सत्ता गठबन्धन दलबाट चार मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद् गठन गरेका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टीका १–१ मन्त्री र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक राज्यमन्त्री भइसकेका छन् ।
आज विश्वासको मत लिए लगत्तै राई मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन् । त्यसका लागि केही मन्त्रालय फुटाएर संख्या थप गर्ने गठबन्धन दलका बीच छलफल भइसकेको छ । उनले पार्टीको केन्द्रिय बैठकमा नै मन्त्री नपाएर दाम्लो चुँडाउन लागेका भन्दै प्रतीकात्मक रूपमा मन्त्रालय फुटाउने संकेत गरेका थिए ।
हाल सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सदस्यसहित स्पष्ट बहुमत छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सभामुखसहित ४० र राप्रपासँग १ जना सदस्य छ ।
मुख्यमन्त्रीलाई मतदान गर्न ह्वीप
यसैबीच सोमबार बसेको गठबन्धन दलहरुको संयुक्त बैठकले मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री राईको पक्षमत मतदान गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिएका छन् । सबै दलहरुले संसदीय दलभित्र मुख्यमन्त्रीको पक्षमा मतदानका लागि ह्वीप जारी गरेका आङ्बोको भनाइ छ ।