काठमाडौं, २ मंसिर ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि शुक्रबारसम्ममा पदबाट राजीनामा गर्न नेपाल बार एशोसिएसनले ‘अल्टिमेटम’ दिएको छ ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई शुक्रबारसम्ममा राजीनामा दिन दवाव दिएको हो ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोप लगाउँदै श्रेष्ठले भने –‘प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय शुरु भएको हो ।
न्यायालयमा सुधारका निम्ति बार एशोसिएशनबाट पटक पटक आन्दोलन गरिएको इतिहास छ भन्दै उनले भने –‘त्यो इतिहासलाई साक्षी राखेर अहिले पनि आन्दोलनमा होमिएका छौं ।
बिहीबार प्रहरी हस्तक्षेपमा सामान्य घाइते भएका श्रेष्ठले आफ्नो शरीरमा लागेको घाउलाई आफै निको पार्ने तर न्यायलय सुधारका लागि थालिएको आन्दोलनबाट नभाग्ने पत्रकार सम्मेलनमा उद्घोष गरे ।
फुलकोर्टबाट गोलाप्रथा पारित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बारले आन्दोलन जारी राखेकै बेला बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बस्यो ।
प्रन्या जबराको अध्यक्षतामा बसेको बैठकले गोलाप्रथाबाट मुद्दा हेर्ने निर्णय पारित गरेकोमा सो निर्णय कार्यान्वयनका लागि नियमावली समेत संशोधन गरी पास गरेको हो ।
सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको सर्वोच्च स्रोतले जनाएको छ । नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको बताइन्छ ।
निर्देशिका राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ भने उक्त निर्देशिका लागू भएसँगै सर्वोच्चका न्यायाधीशहरुले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् ।
नियमावली पारित भएपछि आफूहरु इजलासमा फकिने भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने न्यायाधीशहरुले जनाएका छन् । उनीहरुले बारले जारी राखेको जबराको राजीनामाको मागमा ऐक्यबद्ध रहेको बताएका हुन् ।