बिराटनगर, २ मंसिर ।

प्रदेश नम्बर १ मा वर्तमान सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन गरेको बजेटमाथि पुनरावलोकन गर्ने भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार पूर्ववर्ती सरकारले गरेको बजेट विनियोजनमाथि वर्तमान सरकारले पुनरावलोकन थालेको हो ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री आङ्बोले भने –‘मंसिरभित्र बजेट पुनरावलोकन सकेर पुषदेखि कार्यान्वयन गर्ने गरी तयारी गरिनेछ ।’
उनले प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ल्याएका राम्रा योजनाहरुलाई निरन्तरता दिने जिकिर गरे । आ. व. ०७८/७९ को बजेट राई नेतृत्वको एमाले सरकारले ल्याएको थियो ।
वर्तमान सरकारले बजेट पुनरावलोकनमार्फत शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिने भन्दै मन्त्री आङ्बोले एमाले नेतृत्वकै भीम आचार्यको सरकारका राजनीतिक नियुक्ति भने बदर गरिने स्पष्ट पारे । आचार्य दुई महिनाका लागि मुख्यमन्त्री भए पनि उनले गत कार्तिक १५ गते विश्वासको मत सकेनन् र राजीनामा दिएका थिए ।
कार्तिक १६ गते गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राई मुख्यमन्त्री निर्वाचित भएसँगै वर्तमान सरकार अस्तित्वमा आएको हो । गठबन्धन सरकारमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टीका १–१ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना राज्यमन्त्री रहेका छन् ।