काठमाडौं, २ मंसिर ।
सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गतेका लागि तोकेको छ ।
बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको हो ।
मन्त्रिपरिषद् स्रोतका अनुसार राष्ट्रिय सभाका २० जना सदस्यहरुको कार्यकाल फागुन २० गते सकिने भएकाले माघ १२ मा गर्ने गरी निर्वाचन मिति तोकिएको हो ।
राष्ट्रियसभा सदस्यको पदावधि सकिनु भन्दा ३५ दिन अगाडि नै रिक्त हुने पदका लागि निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यसअघि निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्ने वातावरण मिलाउन सरकारलाई सुझाएको थियो ।
२० जना सदस्यहरुमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ भने बाँकी १ जना राष्ट्रपतिबाट मनोनित हुने छन् ।
सत्ता गठबन्धनका बीचमा यसअघि नै राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने विषयमा समझदारी बनिसकेको छ ।