२५ बैशाख, दमक ।

विद्यालय परिसरहरुमा मतदान केन्द्र तोकिएकाले वैशाख २८ देखि ३० गतेसम्म ३ दिन विद्यालय बन्द गरिने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाका अनुसार निर्वाचन सम्पन्न गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द गरिने भएको हो ।
कोइरालाका अनुसार मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गरिने छन् । त्यस्तै सामुदायिक विद्यालयका कतिपय शिक्षकहरुलाई मतदान केन्द्रमा खटाइने हुनाले पनि विद्यालयको पठनपाठन प्रभावित हुने देखिन्छ ।
३० गते मतदान कार्य सम्पन्न गर्नुपर्ने र सो अघि मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भन्दै विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरिएको छ ।
केन्द्रले मतदान केन्द्र रहने विद्यालयका विद्यार्थीहरुको लागि वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन भनेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुई दिन बिदा दिने सरकारी निर्णय भएकाले र जेठ २ गते बुद्धजयन्ती परेकाले जेठ ३ गते मात्र विद्यालय खुल्ने छन् ।
सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि अझै कतिपय विद्यालयहरुमा राजनीतिक दलका सभा हुने गरेका छन् भने स्थानीय तह निर्वाचन र आम निर्वाचनका बेला विद्यालयलाई नै मतदानस्थलका रूपमा प्रयोग गर्ने परिपाटी अन्त्य हुन सकेको छैन ।

