उत्साहपूर्ण सहभागिता
३० वैशाख, दमक ।

स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मतदान कार्य सुरु भएको छ ।
आगामी ५ वर्षका लागि स्थानीय तहमा काम गर्ने जनप्रतिनिधि चुन्न मतदान कार्य सुरु भएको हो । बिहान ७ बजेबाट शान्तिपूर्ण ढङ्गले देशैभर मतदान कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।
आज भइरहेको निर्वाचनबाट देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडाका ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुने छन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुबाटै स्थानीय सरकार गठन हुने हुनाले यो राज्य र नागरिकबीचको आधारभूत सम्बन्ध स्थापित गर्ने थलो पनि हो ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज हुनु पर्ने मतदान कार्य स्थगन गरिएको छ ।
उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया जारी छ । ती ठाउँहरुमा केही दिनपछि मात्रै मतदान हुने आयोगको भनाइ छ ।
आयोगका अनुसार देशभर मतदान कार्यमा मतदाताहरुको उत्साहपूर्ण उपस्थिति रहेको छ । मतदान कार्य प्रभावित नहोस् भन्नका लागि सुरक्षालगायत हरसम्भव सबै व्यवस्था चुस्त पारिएको बताइएको छ ।