३० वैशाख, दमक ।

आज जारी स्थानीय तह निर्वाचनको मतदान कार्य उत्साहजनक रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार देशैभरका ७ सय ५३ वटै स्थानीय तहअन्तर्गत विभिन्न मतदान केन्द्रहरुमा मतदान गर्न आउनेको संख्या उल्लेख्य रहेको छ ।
मध्यान्ह १२ बजेसम्ममा देशैभर ३५ प्रतिशत भन्दा बढी मतदान भइसकेको आयोगले पुष्टि गरेको हो । मतदानका लागि शुक्रबार अपरान्ह ५ बजेसम्मको समय सीमा तोकिएको छ ।
छिटफुट घटना बाहेक सबैतिर शान्तिपूर्ण मतदान भइरहेको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ । ती स्थानमा पनि छिट्टै मतदान सुरु हुने प्रवक्ता पौडेलले बताएका छन् ।
मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु
यसैबीच स्याङ्जाको वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि थप १२ जना घाइते भएका छन् ।
पञ्चमूल अर्खलबासको भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत नभइसकेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

