adv

४६० गाउँपलिका र २८० नगरपालिकामा मत गणना सकियो

कांग्रेस मुलुकको पहिलो दल बन्ने पक्का

१० जेठ, दमक ।


स्थानीय तह निर्वाचनअन्तर्गत ४६० गाउँपालिकातर्फको मत गणना कार्य सम्पन्न भएको छ । २९३ नगरपालिकामध्ये २८० वटाको नतिजा आइसकेको छ भने २ नगरपालिकाको निर्वाचन प्रविधिक कारणले रोकिएको छ । बाँकी ३ महानगरपालिकासहित ११ पालिकामा मत गणना जारी रहेको निर्वाचन आयोजले जनाएको छ ।

मंगलबार मध्यान्ह १२ः३० बजेसम्मको ताजा मत परिणाम अनुसार ७४० पालिकाको नतिजा आइसकेको अवस्थामा विराटनगर महानगरपालिकासहित ३२२ पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले पहिलो दल बन्ने पक्का भएको छ । पालिका उपप्रमुखतर्फ कांग्रेसले २९७ पालिकामा बाजी मारेको हो ।

मत गणना हुन बाँकी पालिकामध्ये कांग्रेसले ललितपुर महानगरपालिकासहित ४ पालिकामा आफ्नो अग्रता कायम राखेको छ ।
देशैभर चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेद्वार बालेन साहको अग्रता कांग्रेसकी सृजना सिंह र एमालेका केशव स्थापित भन्दा निक्कै अघि छ ।

यस पटक मत परिणाममा खुम्चिएको एमालेले अहिलेसम्म २०२ पालिकामा बाजी मार्दै दोस्रो स्थानमा छ उसले प्रमुखमा भन्दा पालिका उप–प्रमुखमा राम्रो गर्दै २३२ स्थान जितेको छ । अहिले मत गणना जारी रहेका ३ पालिकामा अग्रता गरिरहेको छ ।

पछिल्लो नतिजा अनुसार भरतपुर महानगरपालिकामा जित निकाल्दै नेकपा माओावदी केन्द्रले १२१ पालिकामा जित दर्ज गरेको हो । भरतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले सर्वाधिक मत ल्याई चुनाव जितेकी छिन् । मत गणना जारी रहेको १ पालिकामा माओवादी अघि छ । उप–प्रमुखमा भने उसले १२८ स्थानमा जितेको छ ।

त्यस्तै विरगञ्ज महानगरपालिकामा जित निकाल्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले ३० पालिकामा बाजी मारेको छ । विरगञ्जमा जसपाका राजेशमान सिंह दोब्बर बढी मतले विजयी भएका हुन् । हाल जारी गणनामा ३ पालिकाको उसको अग्रता छ । उप–प्रमुखमा भने जसपाले ३० स्थानमै जितेको हो ।

नेकपा (एकीकृत समाजवादी) ले १९ पालिका जित निकाल्दै पोखरा महानगरपालिकामा जारी मत गणनामा अग्रता कायम राखेको छ भने उप–प्रमुखतर्फ २३ स्थानमा बाजी मारेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १६ पालिका प्रमुख र १२ उप–प्रमुखमा बाजी मारेको छ ।

स्वतन्त्रतर्फ १२ जना उम्मेद्वारले चुनाव जितेका छन् भने राप्रपा, राट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति, जनमत, नेपकिपा, विवेकशील साझालगायत साना दलले ३० पालिकामा जित निकालेका छन् । स्वतन्त्रसहित साना दलहरुले १९ पालिका उप–प्रमुखमा जितेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु