१५ जेठ,दमक ।

पोखराबाट जोमसोमबो लागि उडेको केही समयपछि सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजी कार्यलाई मुस्ताङको घाँसातर्फ केन्द्रित गरिएको छ ।
स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले सूचना पाएको तर एकिन भइनसकेको बताएका छन् ।
यसैबीच सम्पर्कविहीन जहाज खोज्न हेलिकोप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको पोखरेलको भनाइ छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको बताएका छन् भने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
तारा एयरको उक्त जहाज बिहान ९ः५५ बजे पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।

